काठमाडौं - आगामी फेब्रुअरी–मार्च मा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको शनिबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको कार्यक्रममा टोलीलाई विदाई दिइयो।
विश्वकप अघि टोलीले श्रीलंका र भारतमा अभ्यास शृंखला पनि खेल्ने भएकाले टोली आज नै प्रस्थान गर्ने कार्यक्रम रहेको छ। क्यान सचिव पारस खड्काले टोलीलाई शुभकामना दिँदै भने, “यो समग्र विश्वले पनि हेर्ने कुरा हो। खेलाडीदेखि व्यवस्थापन टिम सबैलाई शुभकामना छ। भारतमा समर्थकहरूले पनि साथ दिने आशा छ।”
टोलीका कप्तान रोहित पौडेलले तयारी राम्रो भइरहेको बताए। उनले भने, “अभ्यासले राम्रो बिल्डअप भएको जस्तो लाग्छ। सन् २०२५ निकै राम्रो भयो। आशा छ यो वर्ष पनि उत्कृष्ट प्रदर्शन हुनेछ। हामी समग्र नेपालीलाई प्राउड फिल गराउनेछौं।”
प्रशिक्षक स्टुअर्ट ललेले पनि विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै भने, “अभ्यासमार्फत योजनालाई अन्तिम रूप दिनेछौं। नेपालीहरूलाई खुशी दिने प्रदर्शन गर्ने लक्ष्य छ।” क्यान अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीलाई शुभकामना दिँदै तयारी राम्रो देखिएको र भारतसँगको कन्डिशनमा उत्कृष्ट खेल्ने विश्वास व्यक्त गरे।
नेपालले विश्वकप समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्ने तालिका रहेको छ। यसअघि टोली श्रीलंका ‘ए’ र भारतको एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल्ने छ। विश्वकपका लागि टोलीको कप्तानी रोहित पौडेलले गर्ने तय भइसकेको छ।