काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहलाई आफ्नो नेपाली र अङ्ग्रेजी नामको हिज्जेमा एकरूपता कायम गर्न निर्देशन दिएको छ ।
स्थानीय तहको नाम र हिज्जे फरक–फरक हुँदा सरकारी कागजात बनाउने क्रममा सेवाग्राहीले ठुलो सास्ती भोग्नुपरेको गुनासो आएपछि मन्त्रालयले यो कदम चालेको हो । मन्त्रालयको सङ्घीय मामिला शाखाले हालै एक परिपत्र जारी गर्दै स्थानीय तहहरूलाई १५ दिनभित्र आफ्नो नामको आधिकारिक हिज्जे पठाउन भनेको छ ।
मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय तहबाट जारी गरिने नागरिकता, राहदानी, व्यक्तिगत घटना दर्ता ९जन्म, मृत्यु, विवाह०, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाण पुर्जा, सवारी चालक अनुमतिपत्र र शैक्षिक प्रमाणपत्र जस्ता महत्त्वपूर्ण कागजातमा स्थानीय तहको नामको हिज्जे फरक–फरक हुने गरेको पाइएको छ । विशेष गरी अङ्ग्रेजी नाम लेख्दा फरक–फरक निकायले फरक–फरक हिज्जे प्रयोग गर्दा सेवाग्राहीको विवरण बाझिने र त्यसले कानुनी तथा प्रशासनिक झन्झट निम्त्याएको मन्त्रालयको निष्कर्ष छ ।
मन्त्रालयले जारी गरेको निर्देशनमा नेपाल राजपत्रमा प्रकाशन भएको नामसँग फरक नपर्ने गरी अक्षर, भाव र वर्णविन्यास (हिज्जे) मिलाउन भनिएको छ । यसका लागि प्रत्येक स्थानीय तहले आफ्नो कार्यपालिकाबाट आधिकारिक निर्णय गराई तोकिएको ढाँचामा विवरण उपलब्ध गराउनुपर्नेछ । मन्त्रालयले पठाएको ढाँचामा राजपत्रमा प्रकाशित नाम, सुधार गर्नुपर्ने विषय, कायम हुनुपर्ने नेपाली नाम, अङ्ग्रेजी नाम र वेबसाइटमा प्रयोग हुने नाम स्पष्ट खुलाउनुपर्ने उल्लेख छ । मन्त्रालयले यो विवरण सङ्कलन गरिसकेपछि सबै सरकारी प्रणाली, डिजिटल पोर्टल र वेबसाइटहरूमा एउटै नाम र हिज्जे कायम गर्ने योजना बनाएको छ । स्थानीय तहहरूले तयार पारेको उक्त विवरण मन्त्रालयको सूचना प्रविधि शाखा, स्थानीय तहको ईमेल र आधिकारिक पोर्टल मार्फत बुझाउनुपर्नेछ ।