काठमाडौँ । भरतपुर महानगरपालिकाले भोली शुक्रबार प्रशासनिक भवनको उद्घाटन गर्ने भएको छ । महानगरले चार तले प्रशासकीय भवनको दुई तलाको निर्माण सम्पन्न गरि बाँकी काम बाँकी रहँदै भोलि शुक्रबार उद्घाटनको तयारी गरेको हो । प्रशासनिक भवनको उद्घाटन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले गर्ने तयारी रहेको छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समितिले उद्घाटन रोक्न चेतावनी दिएको छ । पूर्ण रूपमा निर्माण सम्पन्न नगरी प्रशासनिक भवनको उद्घाटन गर्ने निर्णय गरिएकोमा आपत्ति जनाउँदै उद्घाटन रोक्ने चेतावनी दिएको हो। रास्वपा भरतपुर समितिका सभापति सीता ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'निर्माण कार्य अधुरै रहँदै गरिएको उद्घाटन विकासको प्रतीक होइन, यो स्पष्ट रूपमा राजनीतिक स्टन्ट मात्र हो ।'
सार्वजनिक भवनजस्तो संवेदनशील संरचना सञ्चालनमा ल्याउनु अघि त्यसको सुरक्षा, प्रयोगयोग्यता र व्यवस्थापनका सबै पक्ष पूर्ण रूपमा सुनिश्चित हुनुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ । विज्ञप्तिमा अधुरो संरचनाको उद्घाटनलाई लोकतान्त्रिक मूल्य–मान्यताको अवमूल्यन गर्ने कार्यका रूपमा उल्लेख गरिएको छ ।
निर्वाचन वा राजनीतिक कार्यतालिकाको दबाबमा अधुरो भवनलाई ‘उद्घाटन’ गर्नु विकासको मर्ममाथि प्रहार भएको र यसले गलत सन्देश प्रवाह गर्ने रास्वपाको ठहर छ । रास्वपा भरतपुर महानगर समितिले महानगर नेतृत्वसँग शुक्रबार तय गरिएको उक्त उद्घाटन कार्यक्रम तत्काल रोक्न जोडदार माग गरेको छ ।