काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले सोमबारको मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक गरेका छन् ।
खरेलले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरिएको जानकारी दिए । बैठकले दलितको हक अधिकार तथा विकास सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ भने इलामको फिक्कल, सोलुखुम्बुको सोताङ, बाजुराको कोल्टी र मुगुको रामतडीमा मालपोत एवं नापी कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै बैठकले म्यानमारमा भइरहेको निर्वाचनमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकको रूपमा माघ ९ देखि १२ गतेसम्म सहभागी हुन निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरलाई स्वीकृति दिने निर्णय गरेको छ ।
त्यस्तै बैठकले पञ्चवर्षीय वित्तीय क्षेत्र विकास रणनीति स्वीकृत गर्ने र नेपाली सेनाका तीनजना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने र दुई जना महासेनानीको सरुवा गर्ने निर्णय समेत गरेको छ ।

