काठमाडौँ । भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपाली नागरिकको मृत्यु भएको छ। सोलन जिल्लाको अर्की क्षेत्रमा सोमबार बिहान भएको घटनामा सल्यानका दुई परिवार एकैचोटि प्रभावित भएका छन्।
मृतक सबै सल्यान जिल्लाको सिद्धकुमार गाउँपालिका–२ का बासिन्दा रहेको गाउँपालिका अध्यक्ष भरत गिरीले पुष्टि गरेका छन्। वडाध्यक्ष मेघराज बुढाथोकीले विज्ञप्ति जारी गर्दै स्थानीय धनबहादुर विक र काशीराम विकका परिवारका ९ सदस्यको ज्यान गएको जानकारी दिएका छन्।
धनबहादुर विकको परिवारबाट ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया रेणुका विक र राजन विकको मृत्यु भएको छ। त्यस्तै काशीराम विकको परिवारबाट उनकी ३२ वर्षीया श्रीमती टीका विक, १२ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकले ज्यान गुमाएका छन्।
ढारचौर प्रहरी चौकीका प्रमुख असई खगेन्द्रबहादुर शाहीले आगलागीका कारण उनीहरूको मृत्यु भएको भन्ने जानकारी प्रहरी चौकीमा प्राप्त भएको बताएका छन्।
घटनापछि वडाका दुई परिवारका ९ जनाको मृत्यु भएकाले मंगलबार सम्पूर्ण वडामा शोक बिदा दिइएको छ। वडासचिव कृष्ण चलाउनेका अनुसार मृतक दुवै परिवार रोजगारीका सिलसिलामा हिमाचल प्रदेशमा बस्दै आएका थिए। काशीराम विकका भाइले हिमाचलबाट गाउँमा घटनाबारे जानकारी गराएका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान करिब साढे दुई बजेतिर ग्यास सिलिण्डर विस्फोट भएपछि एक घरमा आगलागी भएको थियो। फेन्सी पसलसमेत सञ्चालन भइरहेको उक्त घरबाट आगो फैलिँदा छेउछाउका घर र पसलहरूमा समेत क्षति पुगेको थियो। वेबइन्डियाले आगलागीबाट १५ भन्दा बढी पसल प्रभावित भएको जनाएको छ।
समाचारअनुसार आगलागीको क्रममा ९ जना नेपाली घरभित्रै फसेका थिए र धुवाँका कारण निसास्सिएर उनीहरूको मृत्यु भएको हुनसक्ने उल्लेख गरिएको छ। हिमाचलमै काम गर्दै आएका भोला कुमारले भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै आफ्ना चार आफन्तलाई उद्धार गरी अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको बताएका छन्।