काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई चुनावसम्बन्धी कुनै गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी छ।
गोरखा जिल्ला फुटबल सङ्घका अमित खत्रीले दायर गरेको रिटमा आज न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले एनफालाई उम्मेदवारी दर्ता बुझ्नेलगायत चुनावसम्बन्धी गतिविधि नगर्न आदेश दिएको हो ।
खत्रीले गएको पुस २५ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव, राखेपका अध्यक्ष, एन्फा, एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङ र एन्फाका महासचिव किरण राईलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
अदालतले दुवै पक्षलाई छलफलका लागि आउँदो माघ ६ गते उपस्थित हुन पेशी तोकेको छ । यसअघि एन्फाले आउँदो माघ २८ गतेका लागि अग्रिम चुनावको घोषणा गर्दै तालिका पनि सार्वजनिक गरेको थियो ।