काठमाडौँ । दिल्लीमा असामयिक निधन भएका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सोमबार बिहान सिलिगुडीस्थित बागडोगरा विमानस्थलमा ल्याइएको छ। विमानस्थलमा दार्जिलिङका सांसद राजु बिष्टसहित मनोरञ्जन क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्वहरूले तामाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।
गोर्खा शहीद सेवा समितिका राष्ट्रिय अध्यक्ष एन्ड्र्यु गुरुङका अनुसार, तामाङको पार्थिव शरीर विमानस्थलबाट दार्जिलिङ लगिनेछ। त्यहाँ चौरास्ता, दार्जिलिङमा सर्वसाधारण र उनका प्रशंसकहरूको लागि अन्तिम दर्शनको व्यवस्था गरिएको छ। त्यसपछि परिवार र स्थानीय बासिन्दाको उपस्थितिमा अन्त्येष्टि गरिने कार्यक्रम तय छ। सांसद राजु बिष्टले तामाङको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै भने, “प्रशान्त तामाङले आफ्नो गायन र अभिनयबाट सम्पूर्ण गोरखा समुदायलाई एकताबद्ध गराए। यो हाम्रो लागि ठूलो क्षति हो। कठिन समयमा हामी उनको परिवारसँग छौँ। दार्जिलिङका स्थायी बासिन्दा तामाङको निधन आइतबार दिल्लीस्थित निवासमै भएको थियो। दक्षिण–पश्चिम दिल्लीका एडीसीपी अभिमन्यु पोस्वालका अनुसार, आइतबार दिउँसो ३ः१० बजे माता चनन देवी अस्पतालबाट एमएलसी प्राप्त भएको थियो।
अस्पतालले उनलाई मृत घोषित गर्यो। घटनास्थलमा अपराध अनुसन्धान टोली र एफएसएल टोलीले प्रमाण संकलन गरेको थियो। मृत्युको कारण पुष्टि गर्न शव पोस्टमार्टमका लागि डीडीयू अस्पताल पठाइएको थियो। उनकी पत्नी मार्था एली तामाङले भनेकी छन् कि मृत्यु प्राकृतिक थियो र कुनै शंकास्पद अवस्था थिएन। “उनी सुतिरहेकै अवस्थामा हामीबाट बिदा भए। म त्यही बेला उनको छेउमै थिएँ,” उनले भनिन्। इन्डियन आइडल सिजन–३ का विजेता तामाङले संगीतमा मात्र नभई अभिनयमा पनि आफ्नो पहिचान बनाएका थिए। उनी ‘पाताल लोक सिजन २’ मा देखिएका थिए भने सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ मा पनि देखिने अपेक्षा गरिएको थियो। उनको निधनले संगीत तथा मनोरञ्जन जगत मात्र होइन, सम्पूर्ण गोरखा समुदायलाई शोकमा डुबाएको छ।