काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छापिने कार्य शुक्रबारदेखि सुरु हुँदैछ ।
निर्वाचन आयोगले शुक्रबारबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छापिने जनाएको छ । पहिलो चरणमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छापिने आयोगले जनाएको छ ।
समानुपातिकतर्फ चुनावी प्रतिस्पर्धामा भाग लिने दलको संख्या टुंगिइसकेको छ । ५८ दलले आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् । तीनै ५८ दलको निर्वाचन चिह्न राखेर मतपत्र तयार हुने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
उनले शुक्रबारबाट जनक शिक्षा सामग्री केन्द्रमा समानुपातिकतर्फ दुई करोड मतपत्र छाप्न सुरु गरिने बताए ।
यस पटक १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । कुल मतदाातको ५ देखि १० प्रतिशत संख्यामा बढाएर मतपत्र छापिनेछ । उच्च सुरक्षा व्यवस्था मिलाएर जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा मतपत्र छपाइको तयारी गरिएको छ । मतपत्र छापिनुपूर्व प्रेसको परीक्षण भइसकेको छ ।
सेतो कागजमा कालो रंगमा चुनाव चिह्नसहितको मतपत्र हुने आयोगले जनाएको छ । समानुपातिकतर्फको मतपत्र देशैभर एकै आकारका हुनेछन् । प्रत्यक्षतर्फको दुई करोड मतपत्र भने ९ माघमा उम्मेदवारलाई निर्वाचन चिह्न दिएपछि ११ माघबाट छाप्न सुरु हुनेछ ।
प्रतिनिधिसभातर्फको नमूना मतपत्र छपाइ सकिएको छ। जनक शिक्षा सामाग्री केन्द्रमा गरिएको नमूना छपाइ सकिएको हो। सामाग्री केन्द्रकाअनुसार १० लाख नमूना पतपत्र छपाइ गरिएको छ।
मतपत्र छपाई सुरु हुनु अघि बुधबार र बिहीबार नमुना मतपत्र छपाइको काम गरिएको थियो । समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचन प्रणालीका लागि ५र५ लाख नमुना मतपत्र छपाइ गरिएका थिए । नमुना मतपत्र जिल्ला जिल्लामा मतदाता शिक्षाका लागि पठाइने छन् ।