काठमाडौँ । लुम्बिनी प्रदेश लोक सेवा आयोगका नवनियुक्त अध्यक्ष र सदस्यले बिहीबार शपथ ग्रहण गरेका छन्। अध्यक्ष हरिप्रसाद बस्यालले प्रदेश प्रमुख कार्यालय बुटवलमा आयोजित समारोहमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
शपथ समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्ती मगर तथा मुख्य न्यायाधिवक्ता यमलाल खनालको उपस्थिति रहेको थियो। यसैगरी, लोक सेवा आयोगका नवनियुक्त सदस्य ताराप्रसाद भुसालले अध्यक्ष बस्याल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपालको संविधानको धारा २४४ तथा प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार आयोगका अध्यक्षले कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश समक्ष शपथ लिनुपर्ने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार अध्यक्ष बस्यालले शपथ ग्रहण गरेका हुन्। त्यस्तै, प्रदेश लोक सेवा आयोग ऐन २०७६ कै व्यवस्था बमोजिम आयोगका सदस्यले अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने प्रावधान रहेको छ। नवनियुक्त अध्यक्ष बस्याल पाल्पा जिल्लाका हुन् भने सदस्य भुसाल अर्घाखाँची जिल्लाका हुन्।