काठमाडौँ । सिरहा जिल्लामा इजाजत बिना सञ्चालनमा रहेका तथा स्वीकृत सेवाभन्दा फरक सेवा प्रवाह गरिरहेका निजी अस्पताल, पोलिक्लिनिक, मेडिकल तथा एम्बुलेन्स सञ्चालकलाई जिल्ला प्रशासन कार्यालय सिरहाले ७ दिनभित्र आवश्यक कागजात पेश गर्न निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाभित्र सञ्चालनमा रहेका निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले सम्बन्धित सरकारी निकायबाट प्राप्त इजाजतपत्र, स्वीकृतिपत्र, नवीकरण प्रमाणपत्रलगायत आवश्यक कागजातसहित कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो। सूचनाअनुसार, कतिपय निजी स्वास्थ्य संस्थाहरूले इजाजत नलिई वा इजाजत प्राप्त सेवाभन्दा फरक सेवा सञ्चालन गरिरहेको भन्ने गुनासो तथा जानकारी प्राप्त भएपछि यस्तो निर्देशन जारी गरिएको जनाइएको छ।
तर, यस किसिमका निर्देशनहरू व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन नहुने गरेको भन्दै स्थानीयवासीहरूले असन्तुष्टि जनाएका छन्। स्थानीयहरूका अनुसार जिल्ला प्रशासन कार्यालयबाट पटक–पटक यस्ता सूचनाहरू जारी भए पनि प्रभावकारी अनुगमन र कारबाही नहुँदा अवस्था यथावत् रहेको छ।स्थानीय बासिन्दाहरू भन्छन्, “धेरै प्रमुख जिल्ला अधिकारी आए, तर काम कागजमै सीमित भयो। सूचना जारी गरेर जिम्मेवारी पूरा गरेको जस्तो देखाउने प्रवृत्तिले जनविश्वास घट्दै गएको छ।”
यद्यपि, जिल्ला प्रशासन कार्यालयले तोकिएको समयभित्र उपस्थित भई आवश्यक कागजात पेश नगर्ने सेवा प्रदायकहरूमाथि प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ। तर, यसपटक निर्देशन व्यवहारमै कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने विषयमा स्थानीयस्तरमा शंका व्यक्त गरिएको छ। उक्त सूचना जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा हस्ताक्षरित भई मिति २०८२ साल पौष २२ गते जारी गरिएको हो।