काठमाडौँ । संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यवसायिक भिसा (बी १ बी २) मा नयाँ ‘धरौटी’ (भिसा बन्ड) नियम लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार योग्य व्यक्तिले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्नेछ।
अमेरिकी विदेश मन्त्रालयको पछिल्लो जानकारीअनुसार, धरौटी रकम कन्सुलर अधिकृतले भिसा अन्तर्वार्ताको क्रममा निर्धारण गर्नेछन्। भिसा बन्ड राख्न आवेदकले अमेरिकी गृह सुरक्षा विभागको फर्म बुझाउनु पर्नेछ र अमेरिकी कोष विभागको अनलाइन भुक्तानी प्रणालीमार्फत रकम तिर्न सहमति जनाउनुपर्नेछ। तर अधिकारीहरूले स्पष्ट पारेका छन् कि धरौटी तिरेको आधारमा भिसा स्वीकृत हुने निश्चित छैन। साथै, कन्सुलर अधिकृतको निर्देशन बिना तिरेको रकम फिर्ता नहुने पनि भनिएको छ। यो नियम भिसा आवेदन दिइएको स्थानसँग सम्बन्ध राख्दैन।