काठमाडौँ । मधेश खेलकुद परिषदले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै सरोकारवाला खेल सङ्घहरूसँग छलफलका लागि बैठक आह्वान गरेको छ । मधेश प्रदेश सरकार अन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालय र मधेश खेलकुद परिषद्को तर्फबाट जारी सूचनाअनुसार प्रतियोगितामा समावेश गरिएका खेल सङ्घहरूसँग आवश्यक समन्वय र छलफल गर्न बैठक बोलाइएको हो । प्रतियोगिताको तयारी, व्यवस्थापन तथा समन्वयका विषयमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको परिषद्ले जनाएको छ ।
सूचना अनुसार बैठक २०८२ असोज २३ गते बुधबार बिहान ११ बजे मधेश खेलकुद परिषद्को कार्यालय, जनकपुरधाममा बस्नेछ । उक्त बैठकमा सम्बन्धित खेल सङ्घका प्रतिनिधि तथा पदाधिकारीको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुद्वारा जारी सूचनामा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै सरोकारवाला पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख छ । मधेशनगरमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रदेशको खेलकुद विकास र पहिचानसँग जोडेर हेरिएको छ । यसका लागि तयारी प्रक्रिया तीव्र बनाउँदै प्रदेश सरकारले सम्बन्धित निकायहरूसँग समन्वय बढाउन थालेको छ ।