काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन्। यसले नेपाल विश्व क्रिकेटतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर पुगेको उनको भनाइ छ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विश्वकप ट्रफी सार्वजनिक समारोहमा उनले क्रिकेटले नेपालीलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। क्रिकेटको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत युवाको भविष्य सुदृढ बन्दै गएको उनले बताए।
राष्ट्रपति पौडेलले विश्वकप ट्रफी नेपाल ल्याएकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लाई धन्यवाद दिँदै नेपाली क्रिकेटले अझ उचाइ हासिल गरोस् भन्ने शुभकामना व्यक्त गरे। साथै, महिला विश्वकप छनोट तथा आगामी टी–२० विश्वकपमा सहभागी नेपाली टोलीलाई उत्कृष्ट प्रदर्शनको कामना गरे।