काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘भिडियो आर्ट इन्स्टलेसन कार्यशाला’ सोमवारदेखि नक्सालमा सुरु भएको छ। उद्घाटन कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भिडियो आर्ट इन्स्टलेसनको पृष्ठभूमि, वर्तमान अवस्था र भविष्यबारे चर्चा गर्दै सामाजिक रूपान्तरणमा यस कलाको भूमिका महत्त्वपूर्ण रहेको बताए।
विभाग प्रमुख सौरगंगा दर्शनधारीले कार्यशालालाई विशेष बताउँदै सहभागीलाई कन्सेप्टमा ध्यान दिन आग्रह गरे। सहजकर्ता प्राज्ञ जुपिटर प्रधानले भिडियो आर्ट इन्स्टलेसनको विश्व तथा नेपालमा भएको विकासक्रमबारे जानकारी दिए। शुक्रवारसम्म चल्ने कार्यशालामा डिभा लिम्बु, सविना तामाङ, सरिना लामिछाने, करिमा जोशी, सुशीला मुक्तान र क्रिस्टोफरमान सिंह सहभागी छन्। कार्यक्रममा कलाकार, पत्रकार तथा प्रतिष्ठानका पदाधिकारीको उपस्थिति रहेको थियो।