काठमाडौँ । कल्पनामा मात्र देखिन्थ्यो, अब वास्तविकता बनेको छ। अविरल बग्ने तामाकोसी नदीमा पहिलो पटक जेटबोट पानीजहाज सेवा सुरु भएको छ। मन्थलीका स्थानीय बासिन्दा र पर्यटक अब नदीको सतह चिर्दै साहसिक अनुभव लिन सक्ने भएका छन्।
तामाकोसी मरिन एड्भेन्चर प्रा.लि.ले सुरु गरेको यो सेवा छोटो दूरीमा संचालनमा आएको हो। नदीको बहाव, गहिराइ र भौतिक अवस्था परीक्षण पछि मात्र सेवा सुरु गरिएको कम्पनी सञ्चालक सागरहरी अधिकारीले बताए। नदीको अवस्था उपयुक्त देखिएपछि सीमित दूरीमा जेटबोट सेवा सुरु गरेका छौँ। कानुनी र प्राविधिक प्रक्रिया पूरा भएसँगै सेवा विस्तार गर्ने तयारीमा छौँ उनले बताए।
दीर्घकालीन योजनाअनुसार मन्थलीदेखि खुर्कोटसम्म करिब १५ किलोमिटर दूरी जेटबोटले केवल ७ मिनेटमा पार गर्न सक्ने सम्भावना छ। हाल सडक मार्गबाट यही दूरी पार गर्न लगभग आधा घण्टा लाग्ने हुँदा, यो सेवा यात्रु मात्र नभई स्थानीय आवतजावत र आपतकालीन सेवाका लागि पनि उपयोगी हुने देखिन्छ। एक पटकमा १५ जनासम्म यात्रा गर्न सक्ने जेटबोटमा छुट्टै रोमाञ्चक अनुभवको मजा लिन पर्यटकहरू विशेष रुचि देखाइरहेका छन्। बिदाको दिनमा सयभन्दा बढी यात्रुले यस साहसिक यात्राको अनुभव लिने गरेका छन्।
जेटबोट सेवाले मन्थली र आसपासका क्षेत्रमा पर्यटन गतिविधि बढाउने अपेक्षा गरिएको छ। होटल, रेष्टुराँ, यातायात र स्थानीय रोजगारीमा पनि सकारात्मक प्रभाव पर्ने व्यवसायीहरूले बताउँछन्। पर्यावरणीय मूल्याङ्कन प्रतिवेदन नगरपालिकामा बुझाइसकिएको र आवश्यक स्वीकृति मिल्नेबित्तिकै कानुनी तथा प्राविधिक प्रक्रिया अघि बढाइने जानकारी सञ्चालक अधिकारीले दिएका छन्। यसरी, तामाकोसी नदीमा सुरु भएको जेटबोट सेवा केवल यात्रा मात्र नभई रामेछापको साहसिक पर्यटन र सम्भावनाको नयाँ परिचायक बन्ने देखिन्छ। मन्थली अब ‘सरर’ गर्दै नयाँ यात्राको दिशामा अघि बढिरहेको छ।