काठमाडौँ । कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित चितवनको भरतपुरमा यही माघ २ देखि ४ गतेसम्म ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयुक्त आयोजनामा हुन लागेको यस अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी विगतका वर्षहरूझैं यस वर्ष पनि भव्य रूपमा सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।
प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि सम्बन्धी कम्पनीहरूको सहभागिता रहनेछ। १०० भन्दा बढी स्टलमार्फत कृषि क्षेत्रमा प्रयोग भइरहेका नवीनतम प्रविधि, उपकरण तथा सेवाहरू प्रदर्शन गरिनेछन्। एक्स्पोमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी तथा डेरी व्यवसाय, कृषि औजार तथा मेशिनरी, पशु स्वास्थ्य सेवा, खाद्य प्रविधि, मल, बीउबिजन, कीटनाशक, कृषि तालिम तथा वित्तीय सेवासम्बन्धी जानकारी उपलब्ध गराइनेछ।
यस प्रदर्शनीले देश तथा विदेशबाट आएका उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघ–संस्थाका प्रतिनिधि र आम कृषकहरूलाई आधुनिक कृषि प्रविधि नजिकबाट बुझ्ने तथा आफ्ना जिज्ञासा समाधान गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजकले लिएको छ। हाल स्टल बुकिङ्ग तीव्र गतिमा भइरहेको जनाइएको छ। निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस एक्स्पोमा साना कृषि औजारदेखि लिएर डेरी मेशिनरी र पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणसम्मको प्रदर्शनी तथा प्रत्यक्ष डेमोसमेत गरिनेछ। यसले नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरण र व्यवसायिक विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।