काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रमुख मालपोत कार्यालयमा नेतृत्व परिवर्तन गरिएको छ। ललितपुर, भक्तपुर र काठमाडौं–चाबहिल मालपोत कार्यालयका प्रमुखहरूलाई सरकारले एकै पटक सरुवा गरेको हो।
ललितपुरका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घिमिरे र चाबहिलका दीपेन्द्र खत्रीलाई हालको जिम्मेवारीबाट हटाएर सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ।
भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा. कुमार इङनामले केही दिनअघि ती कार्यालयहरूमा आकस्मिक निरीक्षण गरेका थिए। निरीक्षणपछि मालपोत कार्यालयमा बिचौलियाको चलखेल बढेको र त्यसमा कार्यालय प्रमुखको भूमिकामाथि प्रश्न उठेपछि सरकारले कडा कदम चालेको बताइएको छ।
उनीहरू अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा तत्कालीन मन्त्री बलराम अधिकारीको समयमा मालपोत कार्यालय प्रमुख बनेका थिए। तर अहिलेको सरकारले प्रशासनिक सुधारको सन्देश दिँदै उनीहरूलाई सरुवा गरेको हो।
मन्त्रालयका एक स्रोतका अनुसार उपत्यकाका मालपोत कार्यालयहरूमा लामो समयदेखि बिचौलियाको दबदबा रहेको गुनासो आउँदै आएको थियो।