काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकले विभिन्न धार्मिक समुदायलाई लक्षित गरी सामाजिक सञ्जालमा भ्रामक टिप्पणी गर्ने र धार्मिक खलल पुर्याउनेहरूलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको छ ।
गृह मन्त्रालयमा आईतबार बसेको बैठकमा पछिल्लो समय देखिएका धार्मिक असहिष्णुताका घटनाहरूलाई गम्भीर रूपमा लिँदै स्थानीय प्रशासनलाई स्थितिलाई थप बिग्रिन नदिन समन्वयात्मक भूमिका खेल्न निर्देशन दिइएको छ ।
यसै विषयमा थप विस्तृत छलफल गर्न सोमबार गृह मन्त्रालयले राष्ट्रिय मानवअधिकार आयोग, अन्य संवैधानिक आयोग र सुरक्षा निकायका प्रतिनिधिहरूसहितको संयुक्त बैठक समेत बोलाएको छ ।
निर्वाचन सुरक्षाको अन्तिम तयारी आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा निकायहरूले हालसम्म गरेका अन्तिम तयारीबारे बैठकले विस्तृत जानकारी लिएको छ । निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायहरूबीचको समन्वय र मन्त्रालयले खेल्नुपर्ने भूमिकाका बारेमा समेत सघन छलफल भएको प्रवक्ता काफ्लेले जानकारी दिए ।
फरार कैदीबन्दी पक्राउ गर्न विशेष अपरेशन बैठकले जेनजी आन्दोलनपछि फरार रहेका कैदीबन्दीहरूलाई पक्राउ गर्न सुरक्षा निकायहरूको विशेष अपरेशनलाई थप क्रियाशील बनाउने निर्णय गरेको छ । फरार रहेका व्यक्तिहरूको खोजी कार्यलाई तदारुकताका साथ अघि बढाउन सुरक्षा संयन्त्रलाई उच्च सतर्कताका साथ परिचालन गरिने मन्त्रालयले जनाएको छ ।
यसैगरी, प्रदेश र स्थानीय सरकारहरूलाई पनि आ–आफ्नो क्षेत्रमा धार्मिक सद्भाव कायम राख्न र सुरक्षा व्यवस्था मजबुत बनाउन समन्वयात्मक भूमिकाका लागि अनुरोध गर्ने निर्णय भएको प्रवक्ता काफ्लेले बताए ।