काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ ।
आयोग उच्च स्रोतका अनुसार गत शुक्रबार ओलीलाई पत्र पठाइएको हो । स्रोतले भन्यो, “तत्कालीन गृहमन्त्रीको बयान सकिएपछि उहाँलाई बयानका लागि आउन पत्र पठाएका छौँ । उहाँ आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।” तर, ओलीले सार्वजनिक रूपमै आयोगप्रति असहमति जनाउँदै बयान दिन नजाने अभिव्यक्ति दिँदै आएका छन् ।
यसअघि आयोगले तत्कालीन गृहमन्त्री, प्रधानसेनापति, नेपाल प्रहरीका वर्तमान तथा पूर्वप्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) र काठमाडौँ प्रहरी परिसरका तत्कालीन प्रमुखलगायतसँग बयान लिइसकेको छ । त्यसैगरी आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लिखित जवाफ माग्दै पत्राचार गरिसकेको जनाएको छ ।