काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको प्रतिनिधिमण्डलले भेट गरे। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी महोत्सवमा सहभागी हुन निमन्त्रणासमेत दिए।
मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले माघ १ गते टुँडिखेलमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्रीको उपस्थितिका लागि निमन्त्रणापत्र हस्तान्तरण गर्नुभयो। त्यस अवसरमा अध्यक्ष चौधरीले प्रधानमन्त्री कार्कीलाई थारू समुदायका माग र मुद्दा सम्बोधन गर्न आग्रह गरे। उनले संविधान बनेको १० वर्ष बितिसक्दा पनि थारूहरूको निजामती सेवामा आरक्षण सुनिश्चित नभएको गुनासो राखे।
प्रधानमन्त्री कार्कीले संविधान र कानुनले दिएका हकको प्रयोग रोक्न नहुने धारणा व्यक्त गर्दै भन्नुभयो, “संविधानले दिएको अधिकार कसले र किन रोक्योः यो कुरा मैले पनि बुझ्न सकिरहेको छैन। संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन।” प्रधानमन्त्री कार्कीले यस अवसरमा देश सबैको साझा फूलबारी भएको र सबै समुदायको उचित प्रतिनिधित्वबाट मात्र दिगो विकास सम्भव हुने बताउनुभयो। थारू समुदायले प्रत्येक वर्ष माघे संक्रान्ति माघी पर्व उत्सवको रूपमा मनाउने गर्दछ।