काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई यात्रुका लागि राहत मिल्ने गरी न्यूनतम भाडा घटाएको छ ।
नेपाल आयल निगमले पुस १६ गतेदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि त्यसको असर हवाई भाडामा देखिएको हो। यसअघि प्रतिलिटर १३४ रुपैयाँ रहेको इन्धन मूल्य घटेर १२८ रुपैयाँ कायम भएपछि प्राधिकरणले भाडादर समायोजन गरेको छ ।
नयाँ भाडा दरअनुसार फ्युल सरचार्ज प्रतिसिट प्रतिमिनेट ६८.०९ रुपैयाँ तोकिएको छ । यही आधारमा काठमाडौंबाट हुने पर्वतीय उडानको न्यूनतम भाडा ४ हजार ६ सय रुपैयाँबाट घटाएर ४ हजार ३९० रुपैयाँ कायम गरिएको छ।
त्यसैगरी, काठमाडौं–भद्रपुर उडानको भाडा चार हजार २५ रुपैयाँबाट घटेर तीन हजार ८४५ रुपैयाँ, काठमाडौं–विराटनगर उडानको तीन हजार ७५ रुपैयाँ निर्धारण गरिएको छ भने काठमाडौंबाट सबैभन्दा टाढाको धनगढीका लागि २ सय ६५ रुपैयाँ भाडा घटेर अब ५ हजार ६ सय ५५ रुपैयाँ कायम भएकाे छ ।
कुन उडानमा कति भाडा घट्यो ?
काठमाडौं–माउन्टेन फ्लाइट : २१०
काठमाडौं–भद्रपुर : १८०
काठमाडौं–विराटनगर : १४०
काठमाडौं–जनकपुर : ७५
काठमाडौं–पोखरा : ९५
काठमाडौं–भरतपुर : ६५
काठमाडौं–भैरहवा : १२५
काठमाडौं–नेपालगञ्ज : १९५
काठमाडौं–धनगढी : २६५
काठमाडौं–तुम्लिङटार : ११०
काठमाडौं–सिमरा : ५५
काठमाडौं–सुर्खेत : २१०
काठमाडौं–राजविराज : १२५