काठमाडौं । विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआईएस)कार्यान्वयनमा आएको छ । सरकारले आज १ जनवरी २०२६ को अवसर पारेर यो प्रणालीको सुरुवात गरेको हो ।
गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल पर्यटन बोर्डका प्रमखु कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलगायतको उपस्थितिमा अध्यागमन विभागले उक्त प्रणाली सुरुवात गरिएको हो ।
यसअघि १ असोजदेखि कार्यान्वयनमा ल्याउने घोषणा गरेको अध्यागमन विभागले मुलुकभित्र परिवर्तित घटनाक्रमका कारण १ जनवरीदेखि अनिवार्य गरेको हो ।
विभागका अनुसार यस्तो प्रणाली दुई चरणमा अनिवार्य गर्न लागिएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटलमा अनिवार्य लागू गरिएको छ भने दोस्रो चरणमा १ मार्च २०२६ (१७ फागुन २०८२) देखि देशैभरिका तारे होटल, वायुसेवा कम्पनी, टुर्स एन्ड ट्राभल कम्पनी, मनी एक्स्चेन्जमा लागू गरिने छ ।
त्यसैगरी सबै प्रकारका होटल, गेस्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा पनि लागू गरिने विभागले जनाएको छ । विभागले विकास गरेको प्रणालीमा अनिवार्य आबद्ध हुने विदेशी नागरिकलाई सेवा प्रदान गर्ने सबै सार्वजनिक एवं निजी कम्पनीलाई अनुरोध समेत गरेको छ ।
अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणाली विकास गरेको जनाएको छ ।