काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति, अमनचैन र स्थायित्व कायम राख्दै दिगो लोकतन्त्र स्थापना गर्ने सबैभन्दा भरपर्दो माध्यम निर्वाचन नै भएको बताएकी छन्। उनले यस प्रक्रियालाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिइन्।
आइतबार बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँसँगको भेटवार्तामा प्रधानमन्त्री कार्कीले मुलुक अब थप अस्थिरता र अशान्ति धान्न सक्ने अवस्थामा नरहेको उल्लेख गर्दै असन्तुष्टि र मागहरू शान्तिपूर्ण ढंगबाट अघि सार्न आग्रह गरिन्। प्रधानमन्त्री कार्कीले मुलुक निर्वाचनको चरणमा प्रवेश गरिसकेको स्पष्ट पार्दै जनताबाट आफ्ना मुद्दालाई अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प भएको बताइन्। उनले विगतका कठिन परिस्थितिलाई पार गर्दै देशलाई शान्ति र सुव्यवस्थाको बाटोमा फर्काइएको उल्लेख गरिन्।
“धेरै प्रकारका आशंका र चुनौतीका बीच पनि देश अहिले निर्वाचनको वातावरणमा प्रवेश गरिसकेको छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “यस्तो संवेदनशील समयमा सबैले ‘यो देश मेरो पनि हो’ भन्ने भावना राखेर जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ।” भेटका क्रममा प्रधानमन्त्री कार्कीले शान्ति र अहिंसाको सन्देश स्वरूप भगवान् गौतम बुद्धको तस्वीर प्रसाईँलाई उपहार दिँदै शान्ति कायम राख्न अपिल गरिन्। प्रधानमन्त्री कार्कीले सरकार सत्ता भोग वा व्यक्तिगत सुखका लागि नभई न्याय र सुशासन स्थापनाका लागि प्रतिबद्ध रहेको दाबी पनि गरिन्।
उनले भ्रष्टाचार अन्त्य र शोषित तथा पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी भइसकेको बताउँदै सबै परिणाम तत्काल नदेखिए पनि आधार तयार हुँदै गएको स्पष्ट पारिन्। “हामी न्यायका पक्षमा उभिएका छौँ,” प्रधानमन्त्री कार्कीले भनिन्, “तपाईंले उठाउनुभएका केही जायज मुद्दाका सन्दर्भमा पनि सरकारले गृहकार्य गरिरहेको छ। यी विषयमा आगामी दिनमा थप छलफल गर्दै जान सकिन्छ।”