काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूविरुद्ध लगाएको भनिएको स्थानहद (यात्रा प्रतिबन्ध) र राहदानी रोक्काबारे आफूलाई कुनै औपचारिक जानकारी नदिइएको बताएका छन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै लेखकले आफ्नो स्थानहदबारे सञ्चारमाध्यमबाट मात्र थाहा पाएको उल्लेख गरे। “मेरो स्थानहदबारे मलाई कुनै जानकारी नै छैन। कुन कानुनका आधारमा, किन र कति अवधिका लागि यस्तो निर्णय गरिएको हो भन्नेबारे न लिखित न मौखिक रूपमा मलाई जानकारी दिइएको छ,” उनले भने।
स्थानहद हाल पनि कायम छ वा छैन भन्ने विषयमा समेत आफू अनविज्ञ रहेको लेखकको भनाइ छ। राहदानी रोक्काको विषयमा पनि कुनै जानकारी नदिइएको उनले बताए। स्थानहद र राहदानी रोक्काबारे जाँचबुझ आयोगले समेत आफूलाई जानकारी नदिएको उनको आरोप छ।लेखकले कानुनबमोजिम सरकारलाई अधिकार प्रयोग गर्न आपत्ति नरहेको स्पष्ट पार्दै भने, “कानुनअनुसार हुने निर्णयमा मेरो विरोध छैन। तर स्थानहद किन, के प्रयोजनका लागि, के आधारमा र कति समयका लागि गरिएको हो भन्ने जानकारी सम्बन्धित व्यक्तिलाई दिनुपर्छ कि पर्दैन भन्ने प्रश्न उठ्छ।”
उनले निर्णय गर्नु अघि वा पछि आफूलाई सोधपुछ गर्ने वा जवाफ दिने अवसरसमेत नदिइएको उल्लेख गर्दै यसलाई विधिको शासन र स्वच्छ सुनुवाइको सिद्धान्तविपरीत भएको बताए। “बिना कारण र बिना जानकारी यस्ता निर्णय गरिनु संविधान तथा प्रचलित कानुनी व्यवस्थाविपरीतसमेत हुन सक्छ,” उनले भने। पूर्वगृहमन्त्री लेखकले यस विषयमा आयोग, सरकार तथा सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।