काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आइतबारदेखि सुरु भएको छ। निर्वाचन आयोगले कार्यतालिका अनुसार सबै प्राविधिक र प्रशासनिक तयारी पूरा भइसकेको जानकारी दिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आज र भोलि दर्ता भएका दलहरूले मात्रै उम्मेदवारको बन्द सूची आयोगमा बुझाउन पाउनेछन्। पेस गरिएका सूचीको पुस १५–२० गतेसम्म छानबिन गरिनेछ। यस क्रममा समावेशी मापदण्ड, उम्मेदवारको योग्यता र सूची संरचना जाँच गरिने आयोगले जनाएको छ। छानबिनपछि पुस २१–२७ गतेसम्म दलहरूलाई त्रुटि सच्याउने अवसर दिइनेछ।
त्यसपछि पुस २८–माघ ३ गतेसम्म पुनः परीक्षण गरी अन्ततः माघ ४ गते प्रारम्भिक र माघ २० गते अन्तिम बन्द सूची सार्वजनिक गरिने तालिका छ। यस निर्वाचनमा १०० राजनीतिक दल समानुपातिक प्रणालीमार्फत भाग लिँदैछन् र ती दलहरूले ९३ वटा निर्वाचन चिह्न प्रयोग गर्नेछन्। आयोगले दर्ता भएका दलहरूलाई मात्रै बन्द सूची पेश गर्ने व्यवस्था लागू गरेको छ।