काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ ।
आयोगको बहादुर भवनस्थित कार्यालयमा स्थापना गरिएको केन्द्र आजदेखि सञ्चालनमा आएको हो ।समन्वय केन्द्रको उद्घाटन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका हुन् ।
कार्यक्रममा आयुक्तहरू डा.जानकी कुमारी तुलाधर र सगुन शम्शेर जवरा, आयोगका सचिव कृष्णबहादुर राउतलगायतको उपस्थिति रहेको थियो ।
आयोगका अनुसार निर्वाचनसम्बन्धी सूचना तथा सन्देशहरू मतदाता, उम्मेदवार, राजनीतिक दल र सरोकारवालासम्म प्रभावकारी रूपमा पुर्याउन तथा सञ्चारमाध्यमसँग नियमित सम्पर्क र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो ।
केन्द्रअन्तर्गत प्रेस अफिस, सूचना सदाचार प्रवर्धन एकाइ र विद्युतीय मतदाता शिक्षा एकाइ गरी तीन एकाइ रहनेछन् ।समारोहमा कार्यबाहक प्रमुख आयुक्त भण्डारीले तथ्यपरक र आधिकारिक सूचनाको प्रभावकारी सम्प्रेषण निर्वाचनको विश्वसनीयताका लागि अनिवार्य रहेको उल्लेख गरे।
सामाजिक सञ्जालमा फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिलाई रोकथाम गर्न तथा आयोगका सूचना, निर्वाचन आचारसंहिता र मतदाता शिक्षा सामग्री प्रभावकारी रूपमा प्रवाह गर्न केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
आयोगले सामाजिक सञ्जाल तथा डिजिटल माध्यममार्फत फैलिने गलत सूचना, अफवाह, डिप फेक सामग्रीलगायतलाई तत्काल हटाउन र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तयारी गरेको जनाएको छ ।