काठमाडौं। देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान तराईका धेरै स्थानमा हुस्सु लागेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।
दिउँसो पनि तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने अनुमान गरिएको छ। कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय कुहिरो लाग्ने सम्भावना छ भने बाँकी तराई भूभागमा मध्यान्नसम्म कुहिरो रहन सक्ने महाशाखाले जनाएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको अवस्था रहनेछ। राति तराईका अधिकांश स्थानमा हुस्सु कायमै रहने सम्भावना छ। यसैगरी सबै प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।