काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरि विकास मन्त्रि कुलमान घिसिङले आफ्नो कार्यकालको १०० दिनमा सम्पादन भएको १०१ प्रमुख काम सार्वजनिक गरेका छन् । बुधबार आयोजित कार्यक्रममा उनले तीनवटै मन्त्रालयमार्फत भएका उपलब्धि सार्वजनिक गरेका हुन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइतर्फः ऊर्जा क्षेत्रमा विगतदेखि उठ्न नसकेको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल किस्ताबन्दीमा असुली सुरु गरिएको छ। बुढीगण्डकी र अपर अरुणजस्ता ठूला जलविद्युत आयोजना स्वदेशी लगानीमा अघि बढाउने निर्णय गरिएको छ। मध्यभोटेकोशी आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु भएको छ भने भारत र बंगलादेशमा विद्युत निर्यात विस्तार गरिएको छ। साथै, अन्तरदेशीय प्रसारण लाइन निर्माण, ऊर्जा नीति तर्जुमा, चार्जिङ स्टेशनसम्बन्धी नीतिगत व्यवस्था, साना जलविद्युत आयोजनाको पीपीए सहजीकरण र बाढीबाट क्षतिग्रस्त आयोजनाको पुनः सञ्चालन जस्ता काम अघि बढाइएका छन्।
भौतिक पूर्वाधार तथा यातायाततर्फः जेन–जी आन्दोलनबाट क्षति पुगेका संरचना र सवारी साधनको व्यवस्थापन, सडक र पुल निर्माण तथा मर्मतलाई तीव्रता दिइएको छ। हुलाकी, मध्यपहाडी, पूर्व–पश्चिम राजमार्गलगायत विभिन्न सडक खण्डमा कालोपत्रे र पुल निर्माण सम्पन्न भएका छन्। नागढुंगा र सिद्धबाबा सुरुङमार्ग, रेलमार्ग विस्तार, स्मार्ट सवारी चालक अनुमतिपत्र छपाइ, यातायात सेवा पुनः सञ्चालन तथा सडक सुरक्षाका कार्यक्रम अघि बढाइएको छ। साथै, सार्वजनिक खरिद ऐन संशोधन र रुग्ण ठेक्का व्यवस्थापनमा कडाइ गरिएको छ।
शहरी विकासतर्फः जेन–जी आन्दोलनबाट क्षति पुगेका सरकारी भवनको पुनर्निर्माण, कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृति, बञ्चरेडाँडा ल्यान्डफिल साइटको समस्या समाधान र काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सुधार गरिएको छ। बागमती नदी सफाइ, करिडोर व्यवस्थापन, झोलुङ्गे पुल निर्माण, अस्पताल तथा सार्वजनिक भवन हस्तान्तरण, भूकम्प प्रतिरोधी भवन संहिता परिमार्जन र शहरी विकाससम्बन्धी दीर्घकालीन नीति तर्जुमा गरिएको छ।मन्त्री घिसिङले आगामी दिनमा ऊर्जा उत्पादन, पूर्वाधार विस्तार र शहरी व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।