काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आयोगले सातवटै प्रदेशका लागि जिल्ला अदालतका न्यायाधीशहरूलाई यही पुस १५ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत तोकेको हो ।
आयोगका अनुसार नियुक्त निर्वाचन अधिकृतहरूले पुस १६ गतेदेखि सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी काम सुरु गर्नेछन् ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कोसी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईंलाई विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा खटाइएको छ ।
त्यस्तै मधेस प्रदेशमा धनुषा जिल्ला अदालतका शुभाषबाबु पुरी, बागमतीमा मकवानपुर जिल्ला अदालतका गीता श्रेष्ठ, गण्डकीमा कास्की जिल्ला अदालतका हिमलाल वेल्वासे, लुम्बिनीमा दाङ जिल्ला अदालतका प्रकाशप्रसाद पण्डित, कर्णालीमा सुर्खेतका दीपक ढकाल र सुदूरपश्चिमका लागि कैलाली जिल्ला अदालतका भुवनसिंह थापा निर्वचन अधिकृतमा नियुक्त भएका छन् ।
