काठमाडौँ । मिलेनियम च्यालेन्ज अकाउन्ट एमसीए नेपाल अन्तर्गत दुई महत्वपूर्ण सडक आयोजनाका लागि सम्झौता भएको छ। सम्झौताअनुसार धान खोला–लमही सडक खण्डको स्तरोन्नति कार्य फुल डेप्थ रेक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोग गरेर गरिनेछ। साथै सोही सडक खण्डको स्तरोन्नति कार्यको सुपरभिजनका लागि परामर्श सेवा र नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि डिजाइन तथा निर्माण सुपरभिजन सेवा सम्बन्धी सम्झौता पनि भएको छ।
एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार, धानखोला–लमही सडकको ४० किमि क्षेत्रमा मर्मत कार्य पूरा गर्न २ वर्षको समयसीमा तोकिएको छ। मर्मत कार्यको लागि करिब २ करोड अमेरिकी डलर ३ अर्ब नेपाली रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने सुपरभिजन कन्सल्टिङ ठेक्का करिब ३७ लाख अमेरिकी डलर ५० करोड रुपैयाँ हुनेछ।
विष्टले बताएअनुसार, नारायणघाट–मुग्लिन सडक खण्डको मर्मत र डिजाइन नयाँ प्रविधिअनुसार सम्पन्न गरिनेछ। परियोजनाहरू २ वर्ष ४ महिनाभित्र सकिने लक्ष्य राखिएको भए पनि, हालसम्मको प्रगति हेर्दा निर्धारित समयभित्र काम सकिनेमा केही संशय रहेको विश्लेषकहरूले बताएका छन्। यी आयोजनाले सडकको दिगो सुधार, यातायात सुरक्षामा वृद्धि र आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।