काठमाडौँ । सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघर मण्डलामा गरिएको प्रदर्शनका क्रममा रविकिरण हमालसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा सहभागीहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्र निर्वाचन हुनुपर्ने माग अघि सारेका थिए । प्रदर्शनकारीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध असन्तुष्टि व्यक्त गरेका थिए । प्रदर्शनका क्रममा स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले रविकिरण हमालसहित पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।