काठमाडौँ । काठमाडौँका नदीहरूमा तैरिने फोहर सङ्कलन गर्न सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ‘ट्रास बेरियर’ जडान थालेको छ। गुह्येश्वरीबाट सुरु गरिएको यो काम अन्तर्गत बागमती नदीका गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगङ्गा आँखा अस्पताल, बागमती–मनोहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभान गरी छ स्थानमा ट्रास बेरियर जडान गरिँदैछ।
रु. ६५ लाखको ठेक्का सम्झौतामार्फत जडान हुने ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहरलाई नदीको बहाव अवरुद्ध नगरी एकै स्थानमा रोक्नेछ। सङ्कलित फोहरलाई नियमित रूपमा निकालेर वर्गीकरण तथा सुरक्षित व्यवस्थापन गरिने समितिले जनाएको छ। यसबाट नदी प्रदूषण न्यूनीकरण, जलजीव संरक्षण र नदीको सौन्दर्यमा सुधार हुने अपेक्षा गरिएको छ।