काठमाडौँ । अमेरिकी गृहमन्त्री क्रिस्टी नोएमले डिभी (डाइभर्सिटी भिसा) लोटरी कार्यक्रम अस्थायी रूपमा रोक्ने घोषणा गरेकी छन्। ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा उक्त निर्णय गरिएको हो।
गोलीकाण्डमा संलग्न व्यक्ति ८ वर्षअघि डिभीमार्फत अमेरिका प्रवेश गरेको खुलेपछि कार्यक्रममाथि रोक लगाइएको सिबिएस न्युजले जनाएको छ। गृहमन्त्री नोएमले सामाजिक सञ्जाल एक्समार्फत यसको पुष्टि गर्दै ‘यस्ता अपराधीलाई देशमा प्रवेश दिनु हुँदैन थियो’ भनेकी छन्। अधिकारीहरूका अनुसार ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडिओ म्यानुएल नेभेस भ्यालेन्टी सन् २०१७ मा डिभीमार्फत अमेरिका प्रवेश गरेका थिए र पछि ग्रीन कार्ड पाएका थिए।
घटनापछि अमेरिकाले आप्रवासी नीतिमा कडाइ गर्दै सीमा निगरानी बढाउनुका साथै केही देशका नागरिकको प्रवेश र ग्रीन कार्ड पुनरावलोकन समेत थालेको छ। डिभी कार्यक्रम १९९० को दशकदेखि सञ्चालनमा रहँदै आएको छ, जसअन्तर्गत आप्रवासन दर न्यून भएका देशका वार्षिक ५० हजार नागरिकलाई अवसर दिइँदै आएको थियो। सिबिएस न्युजका अनुसार कार्यक्रम रोक्ने निर्णयको कार्यान्वयन भने चुनौतीपूर्ण हुन सक्नेछ।