काठमाडौँ । सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार उच्च अदालत बुटवलका न्यायाधीश बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतले यसअघि तोकिएको धरौटी रकममा थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत निर्देशन दिएको छ । लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित उच्च अदालतमा निवेदन दायर गरेका थिए । सो निवेदनमाथि सुनुवाइ गर्दै अदालतले धरौटीमा रिहा गर्न उपयुक्त ठहर गरेको हो । यससँगै लामिछानेले तोकिएको धरौटी रकम बुझाएपछि थुनामुक्त भई बाहिरै बसेर कानुनी प्रक्रिया अगाडि बढाउन पाउने भएका छन् ।