काठमाडौँ । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा भएको सामूहिक गोलीकाण्डमा संलग्न रहेको आरोपमा नवीद अकराममाथि १५ जनाको हत्या अभियोग लगाइएको छ। न्यू साउथ वेल्स प्रहरीले आइतबार भएको आक्रमणसँग सम्बन्धित गरी नवीद अकरामविरुद्ध कुल ५९ वटा अभियोग दर्ता गरेको जनाएको छ, जसमा आतंकवादी गतिविधि गरेको एक अभियोग पनि समावेश छ।
प्रहरीका अनुसार घटनामा संलग्न अर्का बन्दुकधारी उनका पिता ५० वर्षीय साजिद अकराम थिए, जो घटनास्थलमै प्रहरीसँगको गोली हानाहानमा मारिएका थिए। हनुक्काको पहिलो रात मनाइँदै गरेको यहूदी समुदाय लक्षित कार्यक्रममा भएको उक्त आक्रमणमा १५ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए। यो सन् १९९६ यताकै अष्ट्रेलियाको सबैभन्दा घातक गोलीकाण्ड भएको बताइएको छ।
नवीद अकराममाथि हत्या प्रयासको नियतसहित गम्भीर शारीरिक क्षति पुर्याएको ४० वटा अभियोग पनि लगाइएको छ। साथै, प्रतिबन्धित आतंकवादी संगठनको चिन्ह सार्वजनिक रूपमा प्रदर्शन गरेको एक अभियोग पनि दर्ता गरिएको छ। आक्रमणका क्रममा गम्भीर घाइते भएका नवीद अकरामलाई अस्पतालमै राखेर प्रारम्भिक सुनुवाइ गरिएको न्यू साउथ वेल्स अदालतले जनाएको छ। अदालतले यो मुद्दा सन् २०२६ अप्रिलसम्मका लागि स्थगित गरेको छ।
यसअघि न्यू साउथ वेल्स प्रहरी आयुक्त माल ल्याननले औषधिको असर कम भएपछि मात्रै नवीद अकरामसँग औपचारिक बयान लिइने बताएका थिए। “न्यायको दृष्टिले पनि उनलाई के भइरहेको छ भन्ने पूर्ण रूपमा बुझ्न आवश्यक छ,” उनले भने। घटनामा घाइते भएका २० जना अझै सिड्नीका विभिन्न अस्पतालमा उपचाररत छन्, जसमा एक जनाको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीले यो आक्रमणलाई आतंकवादी घटना घोषणा गरेको छ। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आक्रमण इस्लामिक स्टेट आईएस समूहको विचारधाराबाट प्रेरित देखिएको बताएका छन्। प्रहरीका अनुसार आक्रमणमा प्रयोग गरिएको सवारीसाधनबाट ‘घरमै बनाइएका’ आईएस झण्डा तथा विस्फोटक पदार्थ आईईडी पनि फेला परेका छन्। यसैबीच, बाबु –छोराले आक्रमण हुनुभन्दा करिब एक महिना अघि फिलिपिन्सको यात्रा गरेको खुलासा भएको छ।
फिलिपिन्स आप्रवासन विभागका अनुसार उनीहरू नोभेम्बर १ देखि २८ सम्म फिलिपिन्समा रहेका थिए र उनीहरूको अन्तिम गन्तव्य दक्षिणी सहर डाभाओ थियो। नवीद अकराम अष्ट्रेलियाली पासपोर्ट प्रयोग गरेर फिलिपिन्स पुगेका थिए भने उनका पिता साजिद अकराम भारतीय पासपोर्टका धारक थिए। साजिद अकराम भारतको हैदरावादका निवासी भए पनि त्यहाँको परिवारसँग उनको सीमित सम्पर्क मात्र रहेको तेलंगाना राज्यका एक प्रहरी अधिकारीले बताएका छन्।