काठमाडौँ । पर्यटन प्रवर्द्धनको उद्देश्यले इलाममा आयोजित ‘रेडपाण्डा म्याराथन’ को उपाधि पुरुषतर्फ गजेन्द्र राई र महिलातर्फ निर्मला राईले जितेका छन्। इलाम सदरमुकामदेखि सन्दकपुर डाँडासम्मको ४४.२ किलोमिटर दूरी गजेन्द्र राईले ४ घण्टा १२ मिनेट १० सेकेण्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे।
महिलातर्फ निर्मला राईले ५ घण्टा २० मिनेट ३६ सेकेण्डमा दूरी पार गर्दै उपाधि जितिन्। दुवैले नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। पुरुषतर्फ करण रावल दोस्रो र कर्णबहादुर रोक्का तेस्रो भए भने महिलातर्फ सुनसरी रोकाय दोस्रो र कल्पना बुढा तेस्रो भइन्। रेडपाण्डा संरक्षण, खेलकुद र पर्यटन प्रवर्द्धनका लागि दीपज्योति युवा क्लबको आयोजनामा सम्पन्न म्याराथनमा पुरुषतर्फ ६२ र महिलातर्फ ११ धावक सहभागी थिए। आयोजकका अनुसार प्रतियोगिताले इलाम र सन्दकपुर क्षेत्रको पर्यटन विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।