काठमाडौँ। सिड्नीको बोन्डी बीचमा भएको भीषण गोलीकाण्डलाई प्रधानमन्त्री एन्थोनी अल्बानीजले “अस्ट्रेलियाको इतिहासमा अँध्यारो दिन” भन्दै गहिरो दुःख व्यक्त गरेका छन्। घटनास्थलको निरीक्षणपछि आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले उज्यालो र उत्सवमय हुनुपर्ने दिन देशका लागि अँध्यारो बनेको बताए।
प्रधानमन्त्रीका अनुसार आक्रमणमा संलग्न दुई जनामध्ये कान्छा २४ वर्षीय युवक पहिलो पटक सन् २०१९ को अक्टोबरमा सुरक्षाकर्मीको निगरानीमा आएका थिए। अन्य व्यक्तिसँगको सम्बन्धका आधारमा गरिएको जाँचमा त्यसबेला उनीबाट निरन्तर खतरा वा हिंसात्मक गतिविधिको स्पष्ट संकेत नदेखिएको निष्कर्ष निकालिएको थियो।
घटनालाई आतंकवाद तथा यहूदीविरोधी आक्रमणको रूपमा व्याख्या गर्दै अल्बानीजले बन्दुकसम्बन्धी कानुन कडा बनाउने घोषणा गरेका छन्। उनले राष्ट्रिय मन्त्रिपरिषद् नेसनल क्याबिनेट बैठकमा व्यक्तिले राख्न पाउने बन्दुकको संख्या सीमित गर्ने र लाइसेन्सलाई समय–समयमा पुनरावलोकन गर्ने प्रस्ताव एजेन्डामा राखिने बताए। मानिसको अवस्था समयसँगै परिवर्तन हुन्छ, कट्टरपन्थी बन्ने सम्भावना रहन्छ, त्यसैले बन्दुकको लाइसेन्स आजीवन हुनु हुँदैन, उनले भने।
अधिकारीहरूका अनुसार आक्रमणकारीहरू बाबु–छोरा हुन्। उनीहरू सिड्नीको दक्षिण–पश्चिमी क्षेत्र बोनिरिगमा बसोबास गर्दै आएका थिए। यद्यपि पछिल्लो समय उनीहरू क्याम्प्सीस्थित अल्पकालीन भाडाको घरमा सरेका थिए, जहाँबाट आक्रमणको तयारी गरिएको आशंका प्रहरीले गरेको छ। गृह मन्त्री टोनी बर्कका अनुसार छोरा अस्ट्रेलियामै जन्मिएका नागरिक हुन् भने बाबु सन् १९९८ मा विद्यार्थी भिसामा अस्ट्रेलिया आएका थिए। पछि उनको भिसा पार्टनर भिसा हुँदै रेसिडेन्ट रिटर्न भिसामा परिणत भएको बताइएको छ। प्रधानमन्त्री अल्बानीजले सरकारको तर्फबाट पीडितहरूको अन्त्येष्टिमा सहयोग गरिने र विदेशबाट आउने आफन्तहरूको व्यवस्थापनमा समेत सहयोग गरिने जानकारी दिएका छन्।