काठमाडौँ । अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबल स्टार लियोनेल मेस्सी आफ्नो टुर अफ इन्डिया २०२५ अन्तर्गत भारतको तेस्रो गन्तव्य मुम्बई आइपुगेका छन्। मुम्बईको ताजमहलको बसाइपछि उनी ब्राबोर्न स्टेडियम पुगेका हुन्। कोलकाताको साल्ट लेक स्टेडियममा कार्यक्रमका क्रममा अव्यवस्था भएपछि त्यहाँ आलोचना भएको थियो।
नेताहरूले मेस्सीको समय कब्जा गरेको आरोप लगाउँदै फ्यानहरूले असन्तुष्टि जनाएका थिए। तर हैदराबादको कार्यक्रम भने सफल र उत्साहजनक बनेको थियो। हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मेस्सीले फुटबल खेल खेलेका थिए। सो अवसरमा उनले तेलङ्गाना मुख्यमन्त्री रेवन्थ रेड्डीसँग भेट गरे भने कांग्रेस नेता राहुल गान्धीसँग पनि भेटघाट गरे। मेस्सीले राहुल गान्धीलाई आफ्नो चर्चित नम्बर १० अंकित अर्जेन्टिनाको जर्सी उपहार दिएका थिए। उनले इन्टर मियामीका सहखेलाडी लुइस स्वारेज र रोड्रिगो डे पॉलसँग पनि तस्बिर खिचाएका थिए।
मुख्यमन्त्री रेवन्थ रेड्डीले मेस्सीलाई सम्मानस्वरूप मायाको चिनो मोमेन्टो प्रदान गरेका थिए। युनिसेफका सद्भावना दूतसमेत रहेका मेस्सीले कार्यक्रममा उपस्थित बालबालिकासँग केही समय बिताउँदै फुटबल खेलेका थिए, जसले उनीहरूका लागि अविस्मरणीय क्षण बनेको थियो। भारत भ्रमणकै क्रममा महाराष्ट्रका १४ वर्षमुनिका प्रतिभावान फुटबल खेलाडीहरू छानिनेछन्, जसले मेस्सीसँग प्रशिक्षण लिने अवसर पाउनेछन्। मेस्सीको भारत भ्रमणको अन्तिम गन्तव्य दिल्ली हुनेछ, जहाँ सोमबार टुर अफ इन्डिया २०२५’ समापन हुने कार्यक्रम रहेको छ।
यसैबीच, कोलकाताको साल्ट लेक स्टेडियममा भएको अव्यवस्थापछि पश्चिम बंगालका राज्यपाल सीभी आनन्द बोस र मुख्य सचिव डा.मनोज पन्तले स्टेडियमको निरीक्षण गरेका छन्। अखिल भारतीय फुटबल महासंघका अध्यक्ष कल्याण चौबेले कोलकाताको घटनामा पश्चिम बंगालका मन्त्रीहरूको कडा आलोचना गरेका छन्। पूर्व भारतीय क्रिकेटर दीप दासगुप्ताले मेस्सीको भ्रमणले केवल सेल्फीभन्दा पनि युवामा प्रेरणा जगाउने विश्वास व्यक्त गरेका छन्।