काठमाडौँ । नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युएईको दुबाईमा भइरहेको एसियन युथ पारा गेम्समा टेबलटेनिस यु–२३ पुरुष एकल क्लास ७ तर्फ रजत पदक प्राप्त गरेका छन्। बिहीबार भएको फाइनलमा न्यौपाने चाइनिज ताइपेइका रेन तिङ ह्वाङसँग ३–२ सेटमा पराजित भए।
उनले पहिलो र तेस्रो सेट जिते पनि दोस्रो, चौथो र अन्तिम सेटमा हार बेहोरेका थिए। सेमिफाइनलमा न्यौपानेले फिलिपिन्सका बार्गे काबनेरोलाई ३–१ सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए। लिग चरणमा उनले काजकिस्तान, कीर्गिस्तान र इराकका खेलाडीहरूलाई पराजित गरेका थिए। महिलातर्फ निर्मला भण्डारीले पनि सहभागिता जनाएकी छन्। यसपटक नेपालले टेबलटेनिससहित एथलेटिक्स, तेक्वान्दो र भारत्तोलनमा सहभागिता जनाएको छ। प्रतियोगिता मङ्सिर २८ गतेसम्म सञ्चालन हुने जनाइएको छ।