काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले लैङ्गिक हिंसाको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको बताएका छन । बुधबार लैङिक हिंसा र सञ्चार माध्यमको भूमिका विषयमा आयोजित कार्यक्रममा बोल्दै उनले डिजिटल माध्यमबाट हुने मनोवैज्ञानिक दबाब, धम्की, अपमानजनक टिप्पणी र चरित्रहत्या जस्ता घटनाले मानिसहरू घरमै बस्दा पनि असुरक्षित महसुस गर्न थालेको बताए ।
उनले, ‘अहिलेको लैङिक हिंसाको परिदृश्य, प्रवृति, शैली कसरी परिर्वतन हुँदै आएको छ भने तपाई आफ्नो घरमा पूर्णरुपमा सुरक्षित हुनुहुन्छ । दिनभरी थकाई मार्दै सुरक्षित स्थानमा बसी सामाजिक सञ्जाल हेर्नुहुन्छ अनी एकाएक शरिर काँप्न थाल्छ, मुटु फुट्ला जस्तो हुन्छ । घरमा सबैबाट सुुरक्षित रहेर पनि तपाई आफूले आफूलाई यति धेरै असुरक्षित महसुस गर्नुहुन्छ कि त्यो संसार तपाईका लागि सुरक्षित लाग्दैन ।’ उनका अनुसार यस्तो अवस्थाले महिला, किशोरी, परिवारका सदस्य तथा डिजिटल प्लेटफर्म प्रयोग गर्ने जो–कोहीलाई प्रभावित पार्दै गएको छ ।