काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले विश्व अभूतपूर्व जल संकटको सामना गरिरहेको उल्लेख गर्दै यसको संरक्षणका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेकामा जोड दिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपालस्थित संयुक्त अरब इमिरेट्स (युएई) दूतावासले संयुक्त रूपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले करिब चार अर्ब मानिसले वर्षमा कम्तीमा एकपटक जल अभावको सामना गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे।
नेपाल र युएईबीच विश्वास, आपसी सम्मान र दिगो समृद्धिको साझा आकांक्षामा आधारित, तत्पर र विस्तार हुँदै गएको सम्बन्ध रहँदै आएको उल्लेख गर्दै उनले यी सम्बन्धहरूको सबैभन्दा बलियो आधार नै हाम्रो जनस्तरको सम्बन्ध भएको बताए। मन्त्री डा. परियारले नेपाल जलस्रोतमा धनी देश भए पनि धेरै समुदायले सुक्खा महिनामा पानी अभावको गम्भीर समस्या भोगिरहेका उल्लेख गर्दै पहाडी क्षेत्रमा मुहानहरू सुक्दै गइरहेका, तराईमा भू(जल दोहन तीव्र हुँदै गएको र गाउँ–बस्तीका पानी प्रणालीहरू जलवायु परिवर्तन र जनसङ्ख्या वृद्धिका कारण दबाबमा रहेका बताए।
त्यसैले, पानी सुरक्षा अब समन्वित कार्य, वैज्ञानिक योजना, प्रविधिक नवप्रवर्तन, सामुदायिक साझेदारी तथा अन्तरराष्ट्रिय सहकार्य आवश्यक पर्ने अत्यावश्यक राष्ट्रिय प्राथमिकता बनेको उनको भनाइ थियो । नेपालको राष्ट्रिय जलस्रोत नीतिले नदी–घाटी तहमा एकीकृत जलस्रोत व्यवस्थापनलाई प्रवद्र्धन गर्ने व्यवस्था गरेको उनले अवगत गराए।