काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आंशिक बन्द गरेर निर्माणलाई तीव्रता दिने भएको छ । यसका लागि नागढुङ्गा–मलेखु सडक खण्ड बुधबार मंसिर २४ गतेदेखि पुस १ गतेसम्म आंशिक बन्द गरिने छ ।
सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन मंसिर २४ गतेदेखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा गाडी बन्द गर्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डु र धादिङ तथा सडक आयोजनाले जारी गरेको संयुक्त सूचना अनुसार नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म सडक आवागमन बन्द हुनेछ । यो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन तथा आफ्नो यात्रा समयलाई यो समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न आग्रह गरिएको छ ।
सो समयमा काठमाण्डुबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिनेछ । सूचनामा अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण हुने जनाइएको छ ।
मुग्लिङबाट काठमाण्डुतर्फ जाने सवारीसाधन खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी–गजुरी खण्डको लागि गल्छी, बैरेनी र मासटारमा रोकिनेछ । साना तथा मझौला सवारीसाधनले अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् । सूचना अनुसार सीतापाईला भिमढुङ्गा, रामकोट धार्के सडक, सामाखुसी टोखा–छहरे सडक वैकल्पिक रुपमा प्रयोग गर्न सकिने छ ।
एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दमकल, शव वाहन जस्ता अत्यावश्यक गाडी भने ट्राफिक प्रहरीको सहजीकरणमा चल्न सक्ने सूचनामा उल्लेख छ । त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । काठमाण्डु जिल्ला भित्र पर्ने नागढुङ्गा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकतामा राखिएको छ । यो सडकखण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्रका लागि एकै पटकमा धेरै गह्रौँ उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुन्छ ।
यसैगरी धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ ।
