काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आफ्नो अन्तिम खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको छ । चितवनले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको पोखराले १९ ओभर ४ बलमा विकेट गुमाएर भेटायो ।
पोखराका एडम रोसिङटनले ६५ र अर्जुन कुमालले अविजित ४३ रन बनाए । चितवनका रिजन ढकाल र सैफ जैबले समान १ विकेट लिए । त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १ सय २० रन बनायो । चितवनका देव खनालले ४१ बलमा ३५, अल्पेश रामजानीले २२ बलमा ३३ रन बनाए । पोखराका धनञ्जय लक्षणले ३ विकेट लिए । पोखरा र चितवन यस अघि नै क्वालिफायर समीकरणबाट बाहिरिसकेका छन् ।
यस्तै आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै विराटनगर किङ्ग्स क्वालिफायरमा पुगेको छ । सुदूरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य ५ विकेट गुमाएर ११ ओभर ५ बलमा भेटाउँदै विराटनगरले नेट रनरेटमा काठमान्डु गोर्खाजलाई पछि पारेर शीर्ष–२ मा रहँदै क्वालिफायरमा प्रवेश गरेको हो ।
योसँगै क्वालिफायर र इलिमिनेटर समीकरण पूरा भएको छ । अब क्वालिफायरमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानमा रहेको विराटनगरबीच फेरि प्रतिस्पर्धा हुनेछ । यस्तै इलिमिनेटरमा तेस्रो स्थानको काठमान्डु र चौथो स्थानको लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।
एनपीएल लिग चरणको अन्तिम खेलमा भोलि दिउँसो साढे ३ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्नेछन् । गएको मङ्सिर १ देखि शुरू भएको दोस्रो संस्करणको एनपीएलको फाइनल खेल यही २७ गते हुनेछ । प्रतियोगितमा ८ वटा टोली सहभागी छन् ।