काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले आफू देशकै नेतृत्व लिने गरी तयारीमा लागेको बताएका छन् ।
रामेछापको सुनापति गाउँपालिकामा आयोजित पालिकास्तरीय आधारभूत अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै ऊर्जासहित तीनवटा मन्त्रालय सम्हालिरहेका घिसिङले यस्तो बताएका हुन्।
उनले देश बनाउनको लागि आफूले उज्यालो नेपाल पार्टी दर्ता गरेको भन्दै आफूलाई सहयोग गर्न पनि अपील गरे । घिसिङले देशलाई उज्यालो बनाउन आफू नेतृत्वमा पुग्नु पर्ने भन्दै त्यसको लागि आफ्नो पार्टीको पक्षमा सहयोग गर्न आह्वान गरेका छन् ।
आगामी सरकारबाट धेरै काम गर्नुपर्ने भएकोले आगामी सरकारको नेतृत्व दिन सक्ने व्यक्ति आफू भएको पनि उनले दाबी गरे । ‘परिवर्तनलाई संस्थागत गर्न चुनाव गर्न आवश्यक रहेको त्यसको लागि आफू जस्ता व्यक्ति चुनिन आवश्यक रहेको छ’, उनले भने ।
आफूले सरकारी कर्मचारी भएर राम्रो काम गरेको भन्दै अब देशको नेतृत्व गर्न आवश्यक रहेको उनले बताए । ‘आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ, त्यसको लागि तपाईंहरूको साथ सहयोग आवश्यक छ’, उनले भने, ‘सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन देशको नेतृत्व गर्न आवश्यक छ भन्ने लागेको छ, यसको लागि साथ सहयोग गर्न म तपाईंहरूलाई आग्रह गर्दछु ।’