काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गरी मुलुकको नेतृत्व युवाशक्तिको हातमा सुम्पिनु देशलाई तीव्र विकासतर्फ लैजाने प्रमुख दायित्व भएको बताएकी छन्। ज्यापु संस्कृति विकास कोषले काठमाडौंमा आयोजना गरेको २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनका तयारीमा पूर्ण रूपमा जुटेको उल्लेख गरिन्।
उनका अनुसार भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी तथा गास–बास–कपासको सुनिश्चिततासम्बन्धी मागहरूलाई सरकार गम्भीरतापूर्वक लिइरहेको छ। प्रधानमन्त्री कार्कीले भनिन्, युवा शक्तिका माग पूरा गर्न सबै क्षेत्रले कटिबद्ध भएर लाग्न आवश्यक छ। आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवाशक्तिको हातमा सत्ता सुम्पिनु हाम्रो जिम्मेवारी हो। यस अभियानलाई सफल बनाउन सबै नेपालीको सहयोग आवश्यक छ। कार्यक्रममा उनले संस्कृतिको संरक्षणलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता पनि औंल्याइन्। साथै उपत्यकाका नेवार समुदायलाई यस्मरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा शुभकामना व्यक्त गरिन्।