काठमाडौँ । नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) का सात पद रिक्त रहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत भएपछि रिक्त संख्या सात पुगेको प्रहरीले जनाएको छ। एआईजी र डीआईजीमा हालै भएका बढुवासँगै स्वाभाविक रूपमा एसएसपी तहमा पद खाली भएको र त्यसलाई पूर्ति गर्ने तयारी अघि बढाइएको प्रहरी प्रधान कार्यालयले बताएको छ।
प्राविधिकतर्फका दुई एसएसपी दरबन्दीसहित जनपद सेवामा आवश्यक दरबन्दी मिलानका लागि गर्ने संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएण्डएम) कार्यलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको प्रमुख प्रशासनिक महाशाखाले जनाएको छ। यससँगै पद मिलानको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेर बढुवाको प्रक्रिया निष्कर्षमा पुर्याउने तयारी छ। यसअघि सशस्त्र प्रहरीले पनि दरबन्दी मिलान गर्दै तीन डीआईजी र एक एसएसपी पद थपेको थियो, जसलाई सुरक्षा निकायभित्र संरचनागत सुधारका रूपमा हेरिएको छ।
रिक्त सात पदका लागि नेपाल प्रहरीले करिब दुई दर्जन एसएसपी अधिकारीलाई प्रतिस्पर्धीको सूचीमा राखेको छ। बढुवाका प्रमुख दावेदारमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेन्द्र प्रसाद काफ्ले, अमरेन्द्र बहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोख्रेल र पदमबहादुर बिष्ट रहेका छन्। वासुदेव खतिवडा, प्रजित केसी, योगेन्द्र सिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही, राजकुमार सिलवाल, सुवास चन्द्र बोहरा, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाल तिमिल्सिना र रमेश पण्डित समेत प्रतिस्पर्धामा छन्। प्रहरी मुख्यालयका अनुसार दरबन्दी मिलान र आवश्यक कागजी प्रक्रिया पूरा भएपछि एसएसपी बढुवा समितिको बैठक बसेर छिट्टै रिक्त पद पूर्ति गर्ने योजना छ।