काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् । काठमाण्डु करण केसीको कप्तानीको टिम हो भने लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो । यो खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।
तीन खेल खेलिसकेको काठमाण्डु र दुई खेल मात्र खेलेको लुम्बिनीको समान दुईदुई अंक छ । काठमाण्डु पछिल्ला दुई खेलमा लगातार पराजित छ । काठमाण्डुले उद्घाटन खेलमा जनकपुरलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो ।
त्यसपछि सुदूरपश्चिमसँग २९ रनले हारेको काठमाण्डुले तेस्रो खेलमा विराटनगरसँग पाँच विकेटको पराजय सामना गरेको थियो । यता, लुम्बिनीले पहिलो खेल जितेर दोस्रो खेल गुमाएको हो । पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको लुम्बिनी दोस्रो खेलमा कर्णालीसँग ९ विकेटको हार चाखेको हो । अंक तालिकामा काठमाण्डु तेस्रो स्थानमा छ भने लुम्बिनी चौथो स्थानमा छ । दुवै टिम आजको खेल जितेर प्रतियोगितामा कमब्याक गर्न चाहन्छन् ।