काठमाडौँ । भियतनामको मध्य क्षेत्रमा परेका अविरल वर्षा र बाढीका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने नौ जना अझै हराइरहेका छन्। सप्ताहन्तदेखि परेको तीव्र वर्षाले ५२ हजारभन्दा बढी घर डुबानमा परेका छन् भने करिब पाँच लाख घरपरिवार तथा व्यवसाय क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ। खतरनाक स्तरको वर्षाले धेरै ठाउँमा तीन दिनमै १.५ मिटरभन्दा बढी पानी परेको छ, केही क्षेत्रमा भने १९९३ को ऐतिहासिक बाढीको ५.२ मिटरको स्तरिको पनि नजिक पुगेको अधिकारीहरूले बताए।
अत्यधिक मौसमले पछिल्ला केही महिनादेखि भियतनामलाई लगातार प्रभावित बनाइरहेको छ। किल्मेगी र बुआलओइ नामक दुई आँधी तूफानले केही हप्ताकै अन्तरालमा ठूलो जनधनको क्षति पुगेको थियो। पछिल्लो बाढीले होइ आन र न्हा ट्राङजस्ता प्रमुख तटीय सहरहरू विशेष रूपमा प्रभावित भएका छन्। सरकारी मूल्यांकनअनुसार यस वर्ष जनवरीदेखि अक्टोबरसम्मका प्राकृतिक प्रकोपले भियतनामलाई करिब २ अर्ब डलर बराबरको क्षति पु¥याएको छ। मध्य उच्च पहाडी क्षेत्र–देशको महत्वपूर्ण कफी उत्पादन क्षेत्र–समेत वर्षाको चपेटामा परेको छ। दक लक प्रान्तमा मात्रै दशौँ हजार घरहरू डुबानमा परेको बताएका छन्।
वर्षा र बाढीबाट सबैभन्दा धेरै प्रभावित क्षेत्रमध्ये होइ आन र ना ट्राङ जस्ता तटीय सहर परेका छन् ।
भियतनाम विश्वकै ठूलो रोबस्टा कफी निर्यातकर्ता देशमध्ये एक हो। लगातारको भारी वर्षा र पहिरोका कारण प्रमुख राजमार्ग तथा यातायात मार्ग अवरुद्ध भएको छ। दालत जाने महत्वपूर्ण मार्ग ‘मिमोसा पास’को एक भाग पहिरोले बगाएपछि आवागमन पूर्ण रूपमा रोकिएको छ। फोटो तथा स्थानीय सञ्चारमाध्यममा सार्वजनिक भिडियोहरूमा मानिसहरू घरको छानामा आश्रय लिएको, पुलहरू भत्किएका र बाढीले बगाउन खोजेको बस जोगिएको दृश्य देखिन्छ। न्हा ट्राङका एक व्यवसायीले आफ्नो रेस्टुरेन्ट र पसल करिब एक मिटर पानीले भरिएको बताउँदै पानी छिट्टै घट्ने सम्भावना नरहेको बताए।
हालका महिनाहरूमा चरम मौसमले भियतनामलाई लगातार प्रभावित पार्दै आएको छ ।
अधिकारिहरूले मौसम अझै केही दिन यस्तै रहने अनुमान गरेका छन्। सेना र प्रहरी परिचालन गरी आपतकालीन आश्रयस्थल बनाइएका छन् र जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने कार्य जारी रहेको। यसअघि नोभेम्बरमै आएको किल्मेगी तूफानले पाँच जनाको ज्यान लिएको थियो, जबकि सेप्टेम्बरमा आएको बुआलओइले कम्तीमा ११ जनाको मृत्यु गराएको थियो। विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण भियतनाममा अत्यधिक वर्षा र शक्तिशाली आँधी–तूफानको आवृत्ति बढ्दो रहेको छ ।