काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाँइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाको फोहोर विजर्सनमा अवरोध नगरिदिन बञ्जरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावित स्थानीयलाई आग्रह गरेका छन् । आन्दोलनकारीलाई टेलिफोन गरी मन्त्री घिसिङले प्रतिबद्धता कार्यान्वयनमा गइसकेकाले फोहोर फाल्न अवरोध नगर्न र आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् ।
फोहोर विजर्सनमा अवरोध भएपछि गत कात्तिक १६ गते मन्त्री घिसिङ बञ्चरेडाँडा पुगेर १५ दिनभित्र माग पूरा गर्ने प्रतिवद्धता जनाएका थिए । स्थानीयको मागबमोजिम ल्यान्डफिल साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ति जडान कार्य सम्पन्न गरिएको छ । प्रतिवद्धता अनुसार, शहरी विकास मन्त्रालयका सचिवको संयोजकत्वमा प्रभावित धुनिवेसी नगरपालिकाका प्रमुख तथा ककनी गाउँपालिकाका अध्यक्ष र काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रहेको सकजीकरण समिति गठन गरिएको छ । समितिले विगतमा भएका सहमति कार्यान्वयन अवस्थाको प्रगति विवरण तयार गरेको छ ।
मुआब्जा तथा क्षतिपूर्तिका लागि समितिबाट तत्कालको लागि सिसडोलमा अपनाइएको विधिअनुसार, ल्यान्डफिल्ड साइटनजिक पर्ने धादिङ र नुवाकोटका प्रभावितलाई क्षतिपूर्ति स्वरुप रकम वितरण गर्न काठमाडौं महानगरपालिकालाई पत्राचार गरिएको छ । क्षतिपूर्तिका लागि विगतमा वार्षिक ६५ लाख रुपैयाँ काठमाडौं महानगरले वितरण गर्दै आएमा चालु आर्थिक वर्षका लागि बजेट वृद्धि गरी एक करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
फोहोर लैजान निकुञ्ज भएर जाने छुट्टै बाटो प्रयोग गर्न शहरी विकास विभागबाट प्रारम्भिक वातावरणीय परीक्षण ९आईईई० गर्न परामर्शदातासँग सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।
ल्यान्डफिल्ड प्रभावित क्षेत्रका विभिन्न चार सडकखण्डको स्तरोन्नतिका लागि बोलपत्र आह्वान भई मूल्यांकनको चरणमा रहेको पनि मन्त्रालयले जनाएको छ ।