काठमाडौं । काठमाडौंको ऐतिहासिक खुलामञ्चलाई नयाँ स्वरूप दिइएको छ। काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले मर्मत र सुधारको काम पूरा भएपछि खुलामञ्च अब सधैं खुला रहने जानकारी दिए।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागले खेलकुद पूर्वाधार सुधार तथा स्तरोन्नति कार्यक्रम अन्तर्गत चउरमा प्राकृतिक दूबो रोप्ने काम सम्पन्न गरेको छ। अब यहाँ घाँसे मैदान, वरिपरिको पैदल मार्ग र खुला मञ्चको दृश्यले आकर्षण बढाएको छ। खुलामञ्चको १४,६०० वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दूबो रोपिएको छ।
प्रमुख शाहले भने, “उबडखाबड मिलाइदिएकै ठाउँमा दूबो रोपिएपछि चउर लोभलाग्दो देखिएको छ। यसका लागि करिब ९० लाख रुपैयाँ खर्च भएको छ।” महानगरपालिकाले ६ करोड ९८ लाख ७० हजार रुपैयाँ खेलकुद पूर्वाधारमा विनियोजन गरेको छ। चउरको वरिपरि ४ मिटर चौडाइको पैदल मार्ग निर्माण गरिएको छ। यसमा २१ वटा बिजुलीका पोल राखिएका छन् । जसमा डे–नाइट सेन्सरयुक्त बत्तीहरू जडान गरिएको छ।
खुलामञ्चमा के–के गर्न पाइन्छ ?
महानगरप्रमुख शाहले खुल्ला मञ्च सबैका लागि खुल्ला रहने, बहुउपयोगी स्थानका रूपमा प्रयोग हुने जानकारी दिए। उनका अनुसार बिहान शारीरिक अभ्यास गर्न सकिनेछ। बालबालिकाहरूका लागि स्वतन्त्र खेल्ने ठाउँ हुनेछ। पाका (वृद्धवृद्धा) उमेरका व्यक्तिहरूका लागि टहल्ने, आराम गर्ने र सहरी जीवन नियाल्ने ठाउँ हुनेछ।
मर्निङ् वाकका लागि उपयुक्त मार्ग हुनेछ। युवाहरूलाई खेल प्रशिक्षण गर्ने तथा रमाउने ठाउँ हुनेछ। ‘चउरबाट पश्चिम तर्फको मुख्य द्वारबाट गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ् गर्ने ठाउँ बनाइएको छ, यो ठाउँ भलिबल, ब्याडमिन्टन जस्ता खेलखेल्न सकिन्छ,’उनले भने।
उनका अनुसार पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न महानगरपालिकाले सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग २०८१ वैशाख १० गते नीतिगत सहमति पत्रमा हस्ताक्षर गरेको थियो। त्यसै सहमतिका आधारमा त्यही महिनाको २३ गते खुल्ला मञ्चको ग्रेडिङ् र लेभलिङ्का लागि सम्झौता भएको हो।
त्यही सम्झौताका आधारमा २०८१ वैशाख २४ गतेदेखि महानगरपालिकाले खुल्ला मञ्चको ग्रेडिङ् र लेभलिङ्को काम थालेको थियो। यसपछि ग्रेडिङ र लेभलिङ्को काम सकिएपछि चउरमा पानी नजम्ने र सतहको पानी पुनःभरण हुने भएको छ। यसका लागि चउरका ६ ठाउँमा ४ फिट व्यास र ४ फिट नै गहिराइ भएका वाटर रिचार्ज पिटहरू बनाइएका छन्। खुल्लामञ्च २३ हजार ४१५ वर्गमिटर ९४६ रोपनी १ दाम क्षेत्रमा फैलिएको छ।